“फरिया चोली लगाएर नाच्ने चाहिँ हामी, पैसा राख्ने चाहिँ केटाहरू” – एउटी केटी अलि आक्रोशित भएर बोली । “कहाँ कति दिए, सबै हिसाब राखेको छ, पछि सबैलाई बराबर बाँड्ने हो”– केटीलाई सम्झाउन खोज्दै भैलोमा भट्याउँदै गरेको लौरी लिएको केटो बोल्यो । “चुप लाग् तँ, हामीलाई बढी चाहिन्छ, घरघरमा नाच्न कम्ता दुःख हुन्छ ?” – मादल लिएकी अर्की केटीले केटालाई हप्काई । “तिमीहरूले हामीलाई केटी भनेर हेपेको ?”– फरिया लगाएकी अर्की केटीले ठुलो स्वर गरी । “वर्षौंदेखि महिलामाथि गरिएको शोषणको निरन्तरता हो यो” – केटालाई धारे हात लगाउँदै अर्की केटीले लैङ्गिक राजनीति गर्न खोजी । “हो हो, साथीहरू अब केटाहरूसँग मिलेर भैलो खेल्नु हुँदैन” – अर्की पृथकतावादी केटीले अस्वाभाविक रूपमा जङ्गिदै आफ्नो मत प्रकट गरी । “देउसी भैलोमा हुँदै आएको लैङ्गिक विभेदका विरुद्ध अब क्रान्तिको सूत्रपात हुन्छ” – अर्कीले घोषणा गरी । सम्झाउन खोजेका केटाहरूको कुरै नसुनी अर्कीले उद्घोष गरी, – “अब केटीहरूको छुट्टै समूह बनाइन्छ र देउसीमा नयाँ क्रान्ति ल्याइन्छ ।” केटी जति सबैले लोलीमा बोली मिलाए ।
भोलिपल्ट अर्थात् टीकाको दिनमा केटीहरूले छुट्टै समूह बनाएर देउसी खेल्ने भए । जमानादेखि त्यस ठाउँमा केटा र केटी एउटै समूह बनाएर देउसी खेल्दै आएका थिए । केटा र केटीको देउसी समूह फुटेकोमा मन अमिलिए पनि केटीहरूको समूहले खेलेको देउसी हेर्न स्थानीय उत्सुक थिए । हुन पनि देउसीमा क्रान्ति जो ल्याउने उद्घोष गरेका थिए केटीहरुले । बाजागाजा र साउन्ड सिस्टमसहित परम्परागत भेषभूषामा आएका केटीहरूको समूह अलि भड्किलै देखिएको थियो । केटाहरूलाई आफ्नो शक्ति प्रदर्शन गर्ने उद्देश्यले होला, केटीहरुले अलि बढी नै तडकभडक गरेका थिए । यस्तो बहुप्रतिक्षित देउसी हेर्नका लागि बालकदेखि वृद्धसम्म आतुर थिए । दर्शकको व्यग्रताका बिच देउसी सुरु भयो ।
कानमा फूल सिउरेकी समूह नेतृले आफ्ना सँगिनीहरूतर्फ सङ्केत गर्दै ठुलो स्वरमा उत्साहित हुँदै भट्याउन सुरु गरी–“ए भन मेरा भाइ हो..”
“भाइ होइन बहिनी भन मोरी हो”– खित्का छोड्दै एक वृद्धले भनिनसक्दै जोडदार सामूहिक नारी आवाज गुञ्जियो–“देउसिरे ।”
No comments:
Post a Comment