Saturday, December 22, 2018

प्रकाश विकल्पद्वारा लिखित ‘देश किन बनेन’ नामक पुस्तक सार्वजनिक

सुशासन विज्ञका रुपमा चिनिने प्रकाश विकल्पद्वारा लिखित ‘देश किन बनेन’ नामक पुस्तक सार्वजनिक भएको छ । शनिबार इन्द्रेणी फुडल्याण्डमा आयोजित एक कार्यक्रममा नेकपा अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पुस्तकको विमोचन गरेका हुन् ।

विमोचन समारोहमा सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि प्रचण्डले सङ्कीर्ण स्वार्थका कारण देश विकासका दृष्टिले पछि परेको र फेरि पनि सो‍ही स्वार्थका लागि संविधानबाट निर्मित प्रणाली र संरचनालाई कमजोर पार्ने भूल कसैले गर्न नहुने बताए ।  सामन्ती सोच भएकालाई पुनः देशको नेतृत्व गर्ने हुटहुटीले नछोडेको समेत उनले बताए ।


पूर्वराजा ज्ञानेन्द्र शाहको पछिल्लो गतिविधिलाई लिएर राजनीतिक टिप्पणी गर्दै आएका प्रचण्डले जनताको ठूलो बलिदानीपूर्ण संघर्षबाट प्राप्त धर्म निरपेक्षता र संघीयता उल्टाउने खेल भइरहेकोमा आपत्ति जनाए । नेपाली कांग्रेस धर्मनिरपेक्षताबाट पछि हट्न खोजेर हिन्दू राष्ट्र बनाउने दिशामा लागेको हो भने यो उसैका लागि घातक हुने प्रचण्डले चेतावनी समेत दिए ।

‘देशलाई समृद्धिको युगतर्फ लैजान सकिने सम्भावना प्रशस्त छन्,’ प्रचण्डले भने, ‘हामी एक दशकभित्र नयाँ आकारको नेपाल बनाउन सकिन्छ भन्ने निष्कर्षमा पुगेका छौँ ।’ नेपालीकै ज्ञान, सीप र स्रोतले समृद्ध नेपाल बनाउन सकिने उनको भनाइ भनाइ थियो ।

पुस्तकमाथि आफ्नो धारणा राख्दै नेपाली कांग्रेसका बौद्धिक नेता राधेश्याम अधिकारीले पुस्तकले सामयिक महत्वको विषय उठान गरी बहस सृजना गरेको बताए । उनले पुस्तकको भाषा मिठो बनेको बताउँदै पुस्तकले देश नबन्नुका कारण र विकृतिबारे चर्चा गरिनु पुस्तकको सकारात्मक पक्ष भए पनि यसमा हिन्दू धर्मलार्इ आक्षेप लाउनु र मृत्युदण्डको वकालत गर्नु गलत रहेको बताए ।

अर्का वक्ता राजपा नेता सर्वेन्द्र नाथ शुक्लले धार्मिक विकृति र सामाजिक विभेदकाका कारण मुलुक पछि परेको तथ्य स्वीकार गर्दै पुस्तकले सकारात्मक दिशामा बहस सृजना गरेको बताए ।

पुस्तकमाथि सुशासन विज्ञ यशोदा देवी तिम्सिनाले समीक्षात्मक मन्तव्य राखिन् । उनले देश नबन्नुमा भ्रष्टाचार समेत मुख्य कारण रहेको चर्चा गर्दै पुस्तकमा सो कुरा पनि समावेश हुनु सुखद रहेको र यो हामी सबैको साझा आवाज रहेको बताइन् ।

संसारका विकसित देशहरुको तथ्य र तीव्र विकास हुनुका कारणसमेतको चर्चा गर्दै नेपाल चाहिँ पछि पर्नुको राजनीतिक, धार्मिक, सामाजिक विभेद, आर्थिक एवं अन्तर्राष्ट्रिय कारणलगायत रहेको लेखक विकल्पले आफ्नो पुस्तकमा चर्चा गरेका छन् ।

साङ्ग्रीला प्रकाशन प्रालिले बजारमा ल्याएको पुस्तकको भाषा सम्पादनको काम सम्पादन हाउसले गरेको हो । पुस्तकको मूल्य ४७५ राखिएको छ, यद्यपि आकर्षक छुटसहित उपलब्ध गराइने प्रकाशकले जनाएको छ ।

स्राेत : http://www.news24nepal.tv

No comments:

Post a Comment