प्यारो सिन्धु महान दिव्य घर हो, जन्मेछु त्यहीँ निर
केही गर्न सकूँ नवीन रटना, बाँचौ उठाई शिर
जो जो जन्म लिए कला कवि बनी, सिर्जेर यो धर्तीमा
शास्त्रैका नवरङ्ग खुल्छ सहजै, यो सिन्धुपाल्चोकमा
यस्तो स्वच्छ छटा अहा जुगल हो, टल्कन्छ जूनैसरि
नाच्छन् पन्क्षी रमी उडेर नभमा, बिर्सिन्छ दुःखै पनि
पाखा, पर्वत छन् नदी सलिल भै, ब्रहयणाी बग्दछ
सुन्कोशी उपहार दिन्छ सुन नै, इन्द्रावती धन्य छ
धर्तीमा पहिलो पदार्पण भएँ, माता पिता सुन्दर
दिव्यानन्द दियौ कृतार्थ छु म ता, सीता र पीताम्बर
छोरो जन्म भयो भनेर खुसीले, न्वारान नामै पनि
राखे बुद्धि तिमल्सिना लहडमा, बन्ला विवेकी भनी
आशीर्वाद लिएर हिँड्छु नभुली, सद्मार्गको दर्शन
दुःखीका उपकार गर्न नसके, व्यर्थै छ यो जीवन
तिम्रा स्वप्न सबै गुँथेर मनमा, निष्ठा लिई माथमा
हिँड्ने शक्ति मिलोस् उदीप्त मनले, सामाजिक भावमा
No comments:
Post a Comment