Friday, August 17, 2018

होशियार सरकार - राधिका आचार्य

दुई चार महिना अघि
गलाको सौभाग्य बेचेर
पैसाको थैली मेरो हातमा थमाउँदै
आमाले भनिन् जा ! बाबु शहर,
टाठाबाठाले पढाउछन् रे त्यहाँ
आखाभरि आशु छछल्काउँदै
आमाका सपनाहरु मनभरि संगालेर
म अध्यारो शहरको, कुनै कुनामा
बन्दी जिवन जिउन थाल्छु सरकार

साँघुरो कोठाको, पानी विहिन त्यो कुनामा
छट्पट्टिएर
नूनसँग पनि छाक बिराएर
भात खाएपनि सरकार
आमाले दिएको त्यो भरिलो थैली
मँहगा ट्युसन सेन्टर र किताबमा
रित्तिसक्यो

छ, सात कक्षातिर ए वि सि डि र
दुई चार छ पढेको मैले
अंग्रेजी गणितका सूत्रहरुसँग
दिनरात आफूलाई बिछ्याउदा
एक सय चार डिग्रीको ज्वरो आई
जीवन मृत्युको दोसाँधमा
सिटामाेल किन्न  नसकी
छट्पट्टाउँदा पनि
विज्ञानका अणुसूत्रहरु घोकिरहेको छु सरकार
गोलीगाँठाका पत्रहरुले साथ छोडिसके पनि

मैले यो साल, मेरी आमालाई
सरकारी नोकरी खाएर देखाउनु छ
यदि एक साल कुर्नुपर्यो भने
मेरी आमाको रगतले साथ छोड्नेछ
म जस्ता कयौँ युवाको आँशुमा
एउटै विकल्प छ सरकार
मृत्यु देऊ वा जागिर

यो समयमा लोकसेवा बन्द गरेउ भने
हरेक बस्तीमा युवा निदाउनेछन्
व्युँझेकाहरु पराईको गल्लीमा
फूल रोपिरहेका हुनेछन्
आमाका सपना टुट्नेछन्
जब, आमा टुट्नेछिन्
देश बाँच्ने छैन सरकार

आमा बचाउँ, देश बचाउँ
सन्तान बचाउँ सरकार
होशियार सरकार होशियार
यदि जीवन जीउन नसकी
कोही मर्यो भने सरकार
सृष्टीको नियम बदलिन सक्छ
बेलैमा होशियारी गर सरकार
युवाले सुनामी ल्याउन सक्छन्....।।

खोटाङ भई हाल काठमाडौ

1 comment: