केही वर्ष पहिले बुद्धिप्रसादले विपन्नकुमारलाई भन्यो— ‘ए तिमीहरू किन चुप छौ ?’
विपन्नकुमारले भन्यो— ‘कराउँदै हिँडेर पेट भरिने हैन क्यारे !’
‘किन नभरिनु ? गाँस, वास, कपास, शिक्षा, स्वास्थ्य सबैको अधिकार हो ।’
विपन्नकुमारले छरछिमेक आफन्त सबैलाई बुद्धिबहादुरको विचार सुनायो ।
उनीहरू सबैले बुद्धिप्रसादको प्रशंसा गरे !
बुद्धिप्रसादले विपन्नकुमारलाई धाप मार्दै भने— ‘म तिमीहरूलाई न्याय दिलाउँछु ।’
नभन्दै विपन्नकुमारहरू बुद्धिप्रसादको पछि लागे ।
उनीहरूको आवाज बन्द गर्न विभिन्न प्रपञ्च रचियो । तर विपन्नकुमारहरू अघि बढिरहे । केही सडकसँगै लतपतिए । केही अङ्गभङ्ग भए । बाँकी रहेका अझ दृढ सङ्कल्पका साथ उभिए ।
त्यस समय सत्तासीनले वार्तामा बोलायो । टोलीमा बुद्धिप्रसाद थिए ।
उनी ओठ चाट्दै फर्किए !
फेरि काशीप्रसादले झकझकाउँदै भने— ‘तिमीहरू परिवर्तनकारी हौ । तिमीहरूले सफलता पाउनै पर्छ ।’
काशीप्रसादले केही विश्वस्त गराउन खोजे पनि बलिया अग्रपङ्क्तिमा देखिए ।
सिंहबहादुरले हात उठाउँदै भन्योे— ‘म लड्छु उत्पीडित वर्गका लागि ।’
विपन्नकुमारहरू मौन देखिए पनि उनीहरूको भित्री हृदय उत्कर्षमा थियो । थुप्रै मित्रले सहादत प्राप्त गर्दा पनि मागको सुनुवाइ नहुनुले उनीहरू भित्रभित्रै छट्पटाइरहेका थिए । सिंहबहादुरको नेतृत्वमा एकठ्ठा भएर उभिए ।
अन्ततः सडक विजय घोषित भयो । मङ्गल ध्वनि बज्दै थियो । बुद्धिप्रसाद, काशीप्रसाद र सिंहबहादुर हातेमालो गर्दै अग्रपङ्क्तिमा देखिए ।
इलाम
No comments:
Post a Comment