Wednesday, April 1, 2020

ए कोरोना - सुनिता राई कन्दङ्वा


ए कोरोना
तिमी कसरी, कहाँबाट जन्मियौ
र यो रौद्र रुप लिएर
यतिबेला विश्व भ्रमणमा रमाइरहेका छौ
यसले होमो अर्गास्टरका चौंथो पिडि ,
होमो सेपियन्सु लाई
चुनौती मात्र दिएको छैन
सर्वत्र
तिम्रो जैविक आक्रमणले
वैज्ञानिकहरुको धज्जी उडाइरहेको छ
र उनीहरुको महान अमरताको खोज
"गिलगमेस परियोजना"
यस घडी
सायद सोचाइहरुको कुनै कुइनेटोमा
थचक्क थेचारिएर खुइयाँ ... गर्दै होला !
ए कोरोना
यसरी आकस्मित तिमी
रक्ताम्मे जिब्रो लप्लापाई रहेकी महाकाली बन्नुले
पोस्टमोडर्ननिज्मका मानवीय अस्तित्व नै धुमिल धुमिल बन्दै छ ।

तिम्रो आकार प्रकार स्वरूप
र रङ्ग
बस हामी कल्पिएर उतार्दै छौं
विश्व सञ्चार मंचमा
कुनै कलाकारले आफ्नो क्यानभासमा
गहिरो-रातो छ्यापेको देख्दा
लाग्छ
तिम्रो रङ्ग ठिक त्यस्तै हुनुपर्छ
जो संकटको दमाहा पिट्दै छ
साढे सात अरब मस्तिष्कमा
ए कोरोना !
कहिले रोकिन्छन्
तिम्रा यी तुफानी यात्राहरु ?

छक्याई छक्याईकन
मानवीय भोगको स्वाद लिएपछि
तिम्रो ताण्डवको रफ्तार अझ बढ्दो छ
बरु अल्मलिएका होलान् अल्गोरिदम कतै सिस्टममा...
सुन !
ती याचनाहरु..
अनगिन्ति हृदयका आर्तनादहरु..
हे सम्वेदनाहीन कोरोना १
के तिमीसम्म आइपुगेनन् ..
यी चित्कारहरु ..?
अन्तिम घडीमा पनि
अँगालेर धित मरुन्जेल भक्कानिन
नपाएको !

हाम्रो एकै प्रार्थना छ
एकै कामना छ
प्रकृतिको धर्म चक्रको बाटो भएर
तिमीले सिकाएको पाठ
अनुसरण गर्दै
मात्र मानव अस्तित्वमा रही
मुस्कुराउँन चाहन्छौं
ए कोरोना !
कहिल्यै नफर्किने गरि
यस्तो त्रासको महामारी दर्दरपीडा नदिने सर्तमा
शान्तिको सुपर सोनीक वाहन चढी
यी सन्त्रासहरु लिएर जाउ...
नफर्किनेगरि जाउ...
कोरोना तिमी जाउ...!


No comments:

Post a Comment