Friday, July 6, 2018

ताली - रवीन्द्र तिमसेना

छोरालाई मन्टेसरी पठाएर भ्यालेन्टाइन डेको उपलक्ष्यमा लोग्ने–स्वास्नी मुभी हेर्न गए । ‘मुभी अच्छा लगा, रोज रोज आउना पढेगा’ – हिन्दी मुभी हेरेकाले हलबाट निस्किँदै गर्दा लोग्ने चाहिँले आफ्ना फ्रेन्च कट दारी मुसार्दै हिरोको शैलीमा स्वास्नीतर्फ हेरेर बोल्यो । हाइलाइट गरेर रातै बनाएको कपालमाथि कालो गोगल्स अड्याउँदै स्वास्नीले भनी – ‘मुजे भी अच्छा लगा ।’ 
बेलुका डान्स पार्टीमा कपल नै जाने योजना भएकाले उनीहरू घरमा छिट्टै फर्किए । हठात् लोग्नेका आँखा टेबलमा राखिएको निमन्त्रणा पत्रमा परे । अब डान्स पार्टीमा नगई लोग्ने–स्वास्नी नै निमन्त्रणा गरिएको कार्यक्रममा सरिक हुने भए । 
कार्यक्रम स्थलमा पुग्दापुग्दै ढिला भएकाले लोग्ने–स्वास्नी दुवै जना पछाडिका खाली सिटमा गएर भाषण सुन्न थाले । एकैछिन पछि मन्तव्यका लागि भन्दै उद्घोषकले लोग्ने चाहिँको नाम बोलायो । हातमा खेलाइ रहेको मोबाइल आफ्नो टाइट जिन्स पाइन्टको गोजीमा कोच्दै मन्तव्यका लागि ऊ मञ्चतर्फ अगाडि बढ्यो । लोग्नेको भाषण सुन्नका लागि स्वास्नीले पनि कानको इयरफोन झिकेर ब्यागमा राखी । मञ्चाभिमुख व्यक्तित्वहरूतर्फ हेर्दै उसले पनि पूर्ववक्ताका झैं नेपाली मौलिक संस्कृतिका बारेमा धुवाँदार भाषण दियो । 
‘मौलिक संस्कृतिको रक्षा गर्न नसक्ने र पश्चिमेली संस्कृतिको नक्कल गर्ने नेपाली त नेपाली नै होइन’– उसले जोड दिएर प्रयोग गरेको यो वाक्यले कार्यक्रम स्थलमा तालीको गडगडाहट भयो । यो सुनेर वानपिसमा सजिएकी उसकी स्वास्नी ताली ठोक्दै अरूलाई साथ दिँदै थिई । लोग्नेले गरेको यस्तो वजनदार भाषण पहिलो पटक सुनेकोले होला, स्वास्नी चाहिँका आँखाका आँसु डिलमा पुगेर खस्न लागेका थिए । मन थाम्न नसकेर आउँदा आउँदै लोग्नेको काँधमा झुन्डिँदै स्वास्नी बोली – ‘वाउ ! ह्वाट एन अमेजिङ स्पिच, आइ एम रियल्ली प्राउड अफ यु माइ डियर ।’


Email: thenitsok@gmail.com

No comments:

Post a Comment