Thursday, July 26, 2018

मानव धर्म - बुद्धि तिमल्सिना


सधैं गर्छौ पूजा मन किन सदा शुद्ध नहुने
धर्‍याे चोखो चर्म अपितु मलिलो चित्त नधुने ।
सुखी बन्ने स्वप्नातिर गइसक्यो मर्म ममता
तिमी मर्ने बेला धुरुधुरु कबै रुन्न नि म ता ।।

उज्यालाका निम्तो कति दिन हिँडे बादलहरू
निकालेका रैछन् गडगड विद्युत धुनहरू
हँसाएरै छाडौं अशक, टुहुरा बालकहरू
रमाऊन् ती हाम्रा स्वजनगणका हिर्दयहरू

हटाओस् घण्टाले टिङटिङ बजी क्लेष मनका
अघाएरै बोलून् चिरचिर चरा प्रेम वनका
उज्यालो सल्काऊ कपट मनकै मैल चुहियोस्
तिमी हामीभित्रै सम–विषमका भाव कुहियोस्

सधैँ तिर्खा मेट्छन् कलकल नदीका जलहरू
तिनैले चोख्याऊन् हृदयतलका ती मलहरू
दिएका छन् ताजा फलफुल यहाँ बृक्षहरूले
गरेका छन् सेवा पवनपथका पत्रहरूले

No comments:

Post a Comment